मुलुक दूधमा आत्मनिर्भरको दिशामा अग्रसर भएकाले अब निर्यात गर्ने लक्ष्य लिएर उत्पादन बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । दुग्ध क्षेत्रका विज्ञहरूले दूधमा आत्मनिर्भर भए पनि गाउँगाउँमा सङ्कलन भएको दूध अझै बजारसम्म आउन नसकेको जानकारी दिेएका छन्। सहरी र आसपास क्षेत्रमा उत्पादित दूध सहजै बजारमा आए पनि ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म आउन सकेको छैन।
नेपाल डेरी एसोसिएसनको २४औँ स्थापना दिवसको अवसरमा शनिबार यहाँ आयोजित कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव (पशुपन्छी विकास) डा. दीपककुमार खरालले दूधमा आत्मनिर्भरतर्फ गएको जानकारी दिँदै अब निर्यात गर्न सक्ने गरी उत्पादनमा लाग्नुपर्नेमा जोड दिेएका छन् । दूधको उत्पादन पर्याप्त भए पनि गाउँगाउँमा उत्पादन भएको दूध बजारसम्म आउन नसकेको उनले बताएका छन्। राष्ट्रिय अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत रहेकोमा साढे सात प्रतिशत (कुल गार्हस्थ्य उत्पादनमा) पशुपन्छीको र दुग्ध क्षेत्रको साढे ३ प्रतिशत योगदान रहेको उनले जानकारी दिएका छन्। अर्थतन्त्रमा दुग्ध व्यवसायको महत्वपूर्ण योगदान रहेकाले यस क्षेत्रलाई सरकारले विशेष प्राथमिकतामा राखेको उनले बताएका छन् । उनले दूध उत्पादनदेखि बजारसम्म पु-याउन संलग्न विभिन्न तहले महत्वपूर्ण योगदान पु-याएकाले उपभोक्तालाई न्यूनतम मूल्यमा उच्च गुणस्तरको दूध उपलब्ध गराउनेतर्फ उद्यमी व्यवसायीलाई आग्रह गरेकाछन्।
दूधको लागत घटाउने, किसानलाई उचित मूल्य उपलब्ध गराउनेतर्फ सरकारले कस्ता कार्यक्रम सञ्चालन गर्नुपर्छ भन्नेबारे प्रस्ताव लिएर आउन सचिव खरालले आग्रह गरेकाछन्। सरोकारवाला निकायसँग छलफल गरेर किसानलाई राहत पुग्ने गरी वैज्ञानिक तवरले दूधको मूल्य निर्धारण गर्न अध्ययन भइरहेको उहाँले जानकारी दिएका छन् ।
सो अवसरमा पशु सेवा विभागका महानिर्देशक सम्झना काफ्लेले दूधको उत्पादन र उत्पादकत्व बढाउन नश्ल सुधारका कार्यक्रम सञ्चालन गरिएको बताएका छन्।