झापा, २४ कात्तिक: झापा इनर्जी लिमिटेडले सौर्य ऊर्जा उत्पादनबाट नौ महिनामा नेपाल विद्युत् प्राधिकरणलाई रु ७ करोड ११ लाखभन्दा बढीको विद्युत् बिक्री गरेको छ। यो सौर्य परियोजना शिवसताक्षी नगरपालिका-४, बुलुचोकमा सञ्चालनमा रहेको छ। गत वर्ष माघ २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले यसको उद्घाटन गर्नुभएको थियो।
कम्पनीका प्रबन्ध सञ्चालक सुभाष भट्टराईका अनुसार, विद्युत् उत्पादन गत वर्ष माघ १० गतेबाट सुरु भएको हो। माघ १० देखि कात्तिक २० सम्मको अवधिमा परियोजनाले १ करोड १९ लाख युनिटभन्दा बढी विद्युत् उत्पादन गरेको छ। यस परियोजनाबाट उत्पादित विद्युत् बुलुचोक सबस्टेसनमार्फत राष्ट्रिय ग्रिडमा जोडिन्छ। परियोजनाले १० मेगावाटसम्म विद्युत् उत्पादन गर्ने क्षमता राखेको छ।
सौर्य ऊर्जा उत्पादनमा मौसमले पनि ठूलो भूमिका खेल्ने गरेको छ। जाडोमा दैनिक अधिकतम ५९ हजार युनिटसम्म विद्युत् उत्पादन भए पनि वर्षायाममा घाम बढी लाग्दा दैनिक १ लाखभन्दा बढी युनिट उत्पादन हुने प्रबन्ध सञ्चालक भट्टराईले बताउनुभयो।
नेपाल विद्युत् प्राधिकरणले सम्झौता अनुसार प्रति युनिट रु ७.३० को दरले विद्युत् खरिद गर्दै आएको छ। परियोजना २२ बिघा जमिनमा फैलिएको छ, जहाँ सौर्य प्यानलहरूले सूर्यको किरणलाई ऊर्जामा रूपान्तरण गर्छन्।
यो परियोजनामा कुल रु ८७ करोडको लगानी भएको छ। माछापुच्छ्रे बैंक र हिमालयन बैंकबाट रु ६२ करोड ऋण लिइएको छ भने बाँकी जनसाधारणको शेयर लगानी रहेको छ। झापा इनर्जी लिमिटेडमा करिब ८०० जनाले रु ५० हजारदेखि रु ५० लाखसम्मको शेयर लगानी गरेका छन्।
परियोजनाले १२ जनालाई स्थायी रोजगारी प्रदान गरेको छ, जसमा दुई इञ्जिनियर पनि छन्। प्रणाली स्वचालित भए पनि परियोजनास्थलको रेखदेख र मर्मत सम्भारका लागि कर्मचारीहरू दिनरात खटिएका छन्। प्रबन्ध सञ्चालक भट्टराईका अनुसार, यो परियोजनाले झापा जिल्लाको ऊर्जा क्षेत्रमा मात्र होइन, स्थानीय आर्थिक विकास र रोजगारीमा पनि सकारात्मक योगदान पुर्याएको छ।