सरस्वति भट्टराई ११ / ९ / २०२४
मानिसको शरीरका विभिन्न भागहरूमा -- जस्तै फोक्सो, रगत, र मस्तिष्कमा -- माइक्रोप्लास्टिक भेटिन थालेको छ। यी साना प्लास्टिकका कणहरूले स्वास्थ्यमा कस्तो असर पार्छन् भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन, तर केही वैज्ञानिकहरूले यसबारे गम्भीर चिन्ता व्यक्त गरेका छन्।
माइक्रोप्लास्टिक अहिले हरेक ठाउँमा फेला परिरहेका छन्। गहिरो समुद्रदेखि उच्च हिमालसम्म, हावामा, पानीमा, माटोमा, र खानपिन शृङ्खलामा समेत यी कणहरू पुगिसकेका छन्। मानिसहरूले दैनिक रूपमा सास फेर्दा, खाना खाँदा वा अन्य तरिकाले यी कणहरूसँग सम्पर्क गर्ने गरेका छन्। पाँच मिलिमिटरभन्दा साना यी कणहरू प्रायः नांगो आँखाले देख्न पनि सकिँदैन।
"२०२४ मा एक साधारण मानिसको शरीरका प्रायः सबै अंगमा प्लास्टिक फेला पर्छ," फ्रान्सका वैज्ञानिक फाबियन लागार्डले हालै फ्रान्सको संसदमा बताउनुभयो। उहाँले चेतावनी दिनुभयो, "सन् २०४० मा जन्मिने बच्चाहरूका लागि यो समस्या झन् गम्भीर हुने सम्भावना छ।"
हालैका अध्ययनहरूले माइक्रोप्लास्टिक र स्वास्थ्य समस्याहरूबीच गहिरो सम्बन्ध रहेको देखाएका छन्। मार्चमा प्रकाशित एक अध्ययनले रगतको नलीहरूमा माइक्रोप्लास्टिक जम्दा हृदयाघात, स्ट्रोक र चाँडो मृत्यु हुने जोखिम बढ्ने देखाएको थियो।
क्यालिफोर्निया विश्वविद्यालयकी अनुसन्धानकर्ता ट्रेसी उड्रफले भन्नुभयो, "माइक्रोप्लास्टिकको स्वास्थ्यमा पर्ने प्रभावहरू निकै चिन्ताजनक छन्।" उहाँले जनावरहरूमा गरिएको २,००० अध्ययनको समीक्षा गर्दै, यी कणहरूले प्रजनन क्षमतामा असर गर्ने, क्यान्सरको जोखिम बढाउने र श्वासप्रश्वासमा समस्या उत्पन्न गराउने पाइएको बताउनुभयो।
माइक्रोप्लास्टिकले मस्तिष्क, अण्डकोष, र प्लासेण्टा पार गर्दै भ्रूणमा समेत पुग्न सक्ने तथ्यले विशेष चिन्ता थपेको उहाँको भनाइ छ।
यद्यपि, धेरैजसो अध्ययनहरू प्रेक्षणमा आधारित भएकाले यी कणहरूले सीधा स्वास्थ्य समस्याहरू सिर्जना गर्छन् भन्ने प्रत्यक्ष प्रमाण दिन सक्दैनन्। कतिपय अध्ययन जनावरहरूमा मात्र गरिएको छ। यद्यपि, उड्रफका अनुसार, "जनावरहरूको जैविक प्रणाली मानिसको जस्तै हुन्छ, र यस प्रकारका डेटा दशकौंदेखि क्यान्सर र प्रजनन विषाक्तताहरू पत्ता लगाउन प्रयोग हुँदै आएका छन्।"
माइक्रोप्लास्टिकको आकार, प्रकार र रासायनिक संरचनाले स्वास्थ्यमा कस्तो प्रभाव पार्छ भन्ने अझै स्पष्ट भइसकेको छैन। यी कणहरू अन्य हानिकारक तत्वहरूलाई पनि शरीरभित्र लैजाने "ट्रोजन होर्स"को भूमिकामा हुन सक्ने डर छ।
प्लास्टिक प्रदूषणको समाधानका लागि संयुक्त राष्ट्रसंघले पहिलो विश्वव्यापी संझौता गर्न तयारी गरिरहेको छ। आगामी एक महिनामा अन्तिम चरणको छलफल हुने अपेक्षा गरिएको छ।
यसैबीच, विशेषज्ञहरूले दैनिक जीवनमा माइक्रोप्लास्टिकको जोखिम कम गर्न केही उपायहरू अपनाउन सुझाएका छन्। प्लास्टिकका बोतलको प्रयोग घटाउने, प्लास्टिकको भाँडामा खाना नताताउने, प्राकृतिक सामग्रीका लुगा लगाउने, र घरलाई राम्ररी हावा खेल्ने बनाउने जस्ता साना तर प्रभावकारी बानीले माइक्रोप्लास्टिकको जोखिम कम गर्न सकिन्छ।
Reference
Stansall, B. (2024, October 30). How harmful are microplastics to human health? Agence France-Presse (AFP).