सबदाता ११ / १३ / २०२४
काठमाडौँ, २८ कात्तिक — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र आत्मसमीक्षाको आवश्यकता औंल्याउँदै आगामी उपनिर्वाचनमा सक्रिय रुपमा सहभागी हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकामा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीको सरकारद्वारा भएका सकारात्मक कामहरू जनतासमक्ष पुर्याउनुपर्नेमा जोड दिए।
पार्टीले कीर्तिपुर नगरप्रमुखका लागि प्राडा शिवशरण महर्जनलाई उम्मेदवारको रूपमा प्रस्तुत गरेको छ। प्रचण्डले महर्जनको इमानदारिता, सरलता, र पारदर्शी नेतृत्व क्षमताको प्रशंसा गर्दै भने, “प्राडा महर्जन कीर्तिपुरको सांस्कृतिक वैभव र नेवाः सभ्यताको पहिचानलाई बलियो बनाउन सक्षम व्यक्तित्व हुन्। उहाँको नेतृत्वमा कीर्तिपुरले देशभरकै नमूना सांस्कृतिक नगरको रूपमा पहिचान बनाउनेछ।”
पार्टीले वडा नं १ को अध्यक्षका लागि अष्टमान महर्जन र वडा नं ४ को अध्यक्षका लागि इञ्जिनियर नारायण विष्टलाई पनि उम्मेदवार बनाएको छ। बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले पार्टीका स्थानीय तहहरूबाट सर्वसम्मत सिफारिसलाई जिल्ला र प्रदेश समितिले अनुमोदन गरेको जानकारी दिए।
माओवादी केन्द्रले अब आफ्नो असफलता र कमीकमजोरीलाई सुधारेर जनताको सेवा गर्ने संकल्पसहित मतदाताको विश्वास जित्ने प्रयास गर्दैछ। उम्मेदवारहरूलाई योग्य र अनुभवी ठहर गर्दै पार्टीले जनताको हितका लागि समर्पित रहने प्रतिबद्धता व्यक्त गरेको छ।