गाजामा इन्धनको चरम अभावका कारण गधाले तान्ने गाडाहरू अहिले त्यहाँ यातायातका थोरै बाँकी रहेका विकल्पहरूमध्ये एक बनेको छ। गत वर्ष इजरायल र हमासबीचको द्वन्द्व सुरु भएयता गाजामा इन्धनको आभाव सुरु भएको हो।

अमीना अबु मगासिबको दैनिकी उनको गधा र गाडामा भर परेको छ। गाजा क्षेत्रमा मानिसलाई ओसारपसार गर्ने उनको यो साधन अहिले एकमात्र जीविकाको आधार बनेको छ। एक वर्षभन्दा लामो द्वन्द्वले गर्दा इन्धनको अभावले गाजाका मानिसहरूको जीवनलाई झन् कठिन बनाएको छ।

"युद्धअघि म दूध र दही बेच्थें, कारखानाले मलाई दूध लैजान्थ्यो," उनी सम्झिन्छिन्। अहिले, उनी गाडाको लगाम समातेर रबरको छडीले गधा चलाउँदै मानिसहरूलाई यातायात सेवा दिन्छिन्। "अब मेरो गधा र गाडाबाहेक कुनै पनि आयस्रोत छैन।"

युद्धअघि गाजामा गधाले तानेका गाडाहरू सामान्य दृश्य थिए। अहिले, इन्धनको अभाव र विनाशले गर्दा गधा गाडाहरू यातायातका थोरै बाँकी साधनहरूमध्ये एक बनेका छन्।

लडाइँ र हवाई आक्रमणबाट बच्न भागिरहेका मानिसहरूले सामानसहित यी गाडामा चढ्छन्। कतिपयका लागि गधा गाडा नै एकमात्र यातायातको साधन बनेको छ ।

मारवा येस आफ्नो परिवारसँग गधा गाडामा यात्रा गर्छिन्। "डेर अल-बालाहबाट नुसेरात जान २० शेकेल ($५.४०) तिर्छु। यो निकै महँगो छ, तर अहिलेका परिस्थितिमा यो पनि सामान्य लाग्छ," उनले भनिन्। "पहिले गधा गाडामा चढ्दा लाज लाग्थ्यो। तर अहिले, विकल्प नै छैन।"


संयुक्त राष्ट्र संघका अनुसार, गाजामा कार्यरत गधाहरूको ४३ प्रतिशत—जसमा घोडा र खच्चर पनि पर्छन्—युद्धका कारण मरेका छन्। अब २,६२७ मात्र बाँकी छन्।

अमीना अबु मगासिब आफ्नो सस्तो गाडामा बस्दै भन्छिन्, "मेरो एक मात्र खर्च घाँसचारा हो।" तर, अहिले मानिस र जनावरका लागि चारा र खानाको मूल्य आकाशिएको छ।

उनले दिनभरको सेवा दिएपछि २० शेकेल मात्र बचाउँछिन्। "मैले यो गधा उधारोमा किनें। मेरो पहिलो गधा युद्धको क्रममा मरेको थियो।"

३२ वर्षीय अब्देल मिस्बाह पनि आफ्नो २० सदस्यीय परिवारसँग विस्थापित भएका छन्। उनी गधा गाडाको सहयोगमा डेलिभरी गर्छन्। "पहिले तरकारी बेच्थें। अहिले, डेलिभरी गर्छु। तर, जब बमबारी नजिक हुन्छ, मेरो गधा डराउँछ," उनले गुनासो गरे।

चारा किन्नुपर्ने चुनौती उनी पनि भोगिरहेका छन्। "मैले मेरो गधालाई राम्रोसँग खुवाउँछु, तर अहिले जौको मूल्य तीन शेकेलबाट ५० शेकेल पुगेको छ।"


युद्धले गाजामा खाद्यान्न, इन्धन र अन्य सहयोग वितरणलाई कठिन बनाएको छ। इजरायली सैन्य अपरेशन र नाकाबन्दीले लाखौं मानिसलाई बारम्बार विस्थापित गराएको छ।

२३ वर्षीय युसुफ मोहम्मदका लागि उनका गधा नै परिवारको "जीवनरेखा" बनेका छन्। "युद्ध सुरु भएपछि कारको भाडा महँगो भयो। गधामा भर पर्नुबाहेक विकल्प थिएन। जब हामीलाई बसाइँ सर्न बाध्य गराइयो, गधा नै सहारा बन्यो," उनले भने।

६२ वर्षीय होस्नी अबु वार्दाको घर उत्तर गाजाको जबालियामा ध्वस्त भयो। १४ घण्टा गाडाको पर्खाइपछि, उनले आफ्ना परिवारका सदस्यहरूलाई खचाखच भरिएर सुरक्षित ठाउँमा पुऱ्याए।

"यस्तो परिस्थितिमा, गधा सुनभन्दा पनि बहुमूल्य छ। यो आधुनिक कारभन्दा पनि महत्वपूर्ण छ," अबु वार्दा भन्छन।  

"/> प्रबर्धन