• Site Map
Side Logo

Prabardhan News

  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • विविध
  • बालबालिका
  • English

सम्बादाता १२ / ४ / २०२४


:

प्रधानमन्त्रीको आग्रह: नेपालमा लगानी बढाउन चिनियाँ व्यवसायीलाई आह्वान

Card image cap

प्रधानमन्त्रीको आग्रह: नेपालमा लगानी बढाउन चिनियाँ व्यवसायीलाई आह्वान

काठमाडौँ, १९ मङ्सिर – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न चिनियाँ लगानीकर्ताहरूलाई आग्रह गर्नुभएको छ। चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले आज बेइजिङमा आयोजित ‘नेपाल–चीन बिजनेस समिट’लाई सम्बोधन गर्दै नेपालमा लगानीको वातावरण सुधार भइरहेकाले थप लगानीका लागि उत्साहित बन्न आग्रह गर्नुभयो।

नेपाल उद्योग वाणिज्य महासङ्घ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दूतावासले संयुक्त रूपमा आयोजना गरेको यो सम्मेलनमा प्रधानमन्त्री ओलीले विदेशी लगानी आकर्षित गर्न नेपालले विभिन्न नीतिगत र व्यावहारिक सुधार गरिरहेको बताउनुभयो। “हामी लगानी विस्तार र व्यापार सहजीकरणका लागि थप सुधार गर्न प्रतिबद्ध छौँ,” उहाँले भन्नुभयो।

प्रधानमन्त्रीले नेपाल र चीनबीचको परम्परागत सम्बन्धलाई आर्थिक साझेदारीमा रूपान्तरण गर्न सकिनेमा जोड दिनुभयो। उहाँले निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा पहिचान गर्दै सरकार सधैं स्वदेशी र विदेशी लगानीको संरक्षणमा तयार रहेको बताउनुभयो।

प्रधानमन्त्री ओलीले चिनियाँ लगानीकर्ताहरूलाई जलविद्युत्, पर्यटन, उत्पादनमूलक उद्योग, र सूचना प्रविधि क्षेत्रहरूमा लगानी गर्न आह्वान गर्दै नेपालमा यी क्षेत्रहरूमा ठूलो सम्भावना रहेको उल्लेख गर्नुभयो। साथै, नेपाल र चीनबीचको व्यापार घाटालाई कम गर्न कृषि उत्पादनलाई चिनियाँ बजारमा पुर्‍याउन सहजीकरण गर्नुपर्ने आवश्यकता पनि व्यक्त गर्नुभयो।

चीनसँगको साझेदारी र लगानी प्रतिबद्धता
सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ वाणिज्य उपमन्त्री लिङ जीले चीन र नेपालको पुरानो सम्बन्धमा आधारित साझेदारीलाई अझ गहिरो बनाउन तत्पर रहेको बताउनुभयो। उहाँले नेपालमा चिनियाँ लगानी बढिरहेको र भविष्यमा पनि यसलाई विस्तार गर्ने प्रतिबद्धता जनाउनुभयो।

उपमन्त्री लिङले चीनले नेपाललाई परिहन सहजीकरणको सुविधा दिन तयार रहेको र चिनियाँ भन्साररहित सुविधाले नेपाललाई फाइदा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

व्यावसायिक वातावरण र सम्भावना
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालले हालसालै व्यावसायिक वातावरण सुधार गर्न गरेको प्रगतिबारे जानकारी दिनुभयो। उहाँले सरकारद्वारा लगानी सहजीकरणका लागि आठवटा कानुन संशोधन गरिएको र द्विपक्षीय लगानी सम्झौताको खाका तयार भएको जानकारी गराउनुभयो।

अध्यक्ष ढकालले नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ प्राप्त गरेको र यसले लगानीकर्ताहरूलाई नेपालप्रति अझै विश्वास दिलाएको बताउनुभयो। पर्यटन पूर्वाधार विकास, जस्तै केबलकार, थिम पार्क, र रिसोर्टहरूमा पनि विदेशी लगानीको ठूलो सम्भावना रहेको उहाँले उल्लेख गर्नुभयो।

अन्त्यमा, उहाँले चीनबाट भैरहवा र पोखरा विमानस्थलसम्म सिधा उडानको व्यवस्था गर्न दुवै देशका सरकार र निजी क्षेत्रलाई सक्रिय पहल गर्न आग्रह गर्नुभयो। नेपाललाई चिनियाँ पर्यटकहरूका लागि प्रमुख गन्तव्य बनाउने लक्ष्यका साथ दुई देशबीच सहकार्य बढाउनुपर्नेमा जोड दिनुभयो।

नेपाल र चीनको यो साझेदारीले आर्थिक विकास र लगानीको नयाँ अध्याय लेख्ने विश्वास गरिएको छ।

Share

Advertisement



Prabardhan Saptahik
© 2021, Copyrights Prabardhan Weekly | Developed by Reliefcode Theme. All Rights Reserved