काठमाडौं। काठमाडौं उपत्यकाबाट निस्कने ढलकाे पानीबाट ४२ मेगावाट विद्युत उत्पादन गरिने भएको छ। योसहित वाग्मती नदीमा दोस्रो आयोजना निर्माण हुन लागेको हो। यसअघि पनि वाग्मतीमा माण्डु हाइड्रोपावरले २२ मेगावाट क्षमताको 'वाग्मती नदी जलविद्युत आयोजना' निर्माण सम्पन्न भइ करिब २८ महिनाअघि नै सञ्चालनमा आइसकेको छ। सुपर वाग्मती हाइड्रोपावर कम्पनीले विस्तृत अध्ययन सकेर निर्माण अनुमति माग्दै विद्युत विकास विभागमा निवेदन दिएको छ। साढे ६ किलोमिटर मुख्य सुरङसहित ८ किलोमिटरभन्दा बढी सुरुङ मार्ग रहने आयोजनाको बाँध ललितपुरको महाँकाल र वाग्मती गाउँपालिकाको सिमाना ठूलो दुर्लुङ र गिम्दीमा रहनेछ भने विद्युत गृह मकवानपुरको वाग्मती गाउँपालिकाको बेतिनी र फापरबारी क्षेत्रमा रहनेछ।