• Site Map
Side Logo

Prabardhan News

  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • विविध
  • बालबालिका
  • English

२८ अर्ब बढीको सुन आयात

Card image cap

चालु आर्थिक वर्षको नौ महिनामा सुन आयातका लागि मुलुकबाट रु २८ अर्ब ५४ करोडभन्दा बढी नेपाली रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आव २०७८/७९ को पहिलो नौ महिनाको विवरणानुसार सुन आयातका लागि नेपालबाट रु २८ अर्ब ५४ करोड ९० लाख चार हजार बाहिरिएको हो । तथ्याङ्कानुसार नौ महिनाको अवधिमा मुलुकमा चार हजार किलोग्रामभन्दा बढी सुन आयात भएको छ । सुनको आयातबाट सरकारले रु तीन अर्ब ४८ करोड तीन लाख ३० हजार बराबरको राजस्व सङ्कलन गरेको छ । सार्वजनिक विवरणानुसार नेपालमा मुख्य युनाइटेड अरब इमिरेट्स (युएई) र टर्कीबाट सुन भित्रिने गरेको देखिन्छ । चालु आवको पहिलो नौ महिनामा सबैभन्दा बढी युएईबाट सुन आयात भएको विभागको तथ्याङ्क छ । युएईबाट ३२ लाख ३३ हजार ग्राम सुन आयातका लागि रु २२ अर्ब ६२ करोड दुई लाख ५४ हजार बाहिरिएको छ भने सरकारले रु दुई अर्ब ७४ करोड ८० लाख ५४ हजार राजस्व सङ्कलन गरेको छ । युएईपछि टर्कीबाट रु पाँच अर्ब ९२ करोड ८७ लाख ५० हजार बराबरको आठ लाख ६१ हजार ५०० ग्राम सुन आयात भएको छ । केन्द्रीय बैंकले विलासिताका वस्तु आयातमा रोक लगाएका कारण सुन आयातमा यसको प्रत्यक्ष असर परेको छ । विभागका अनुसार पछिल्लो एक महिनामा ५० हजार ग्राम सुन आयात भएको छ । अहिले आयातमा कडाइ गरिए पनि अघिल्लो आवको तुलनामा चालु आवको नौ महिनाको सुनको आयात भने बढेको देखिन्छ । गत आवको चैत मसान्तसम्म दुई हजार ७६० किलोग्राम सुन आयात भएकामा चालु आवको सोही अवधिसम्म आयात करिब ४७ प्रतिशतले बढेर चार हजार किलोग्रामभन्दा बढी पुगेको देखिन्छ । रासस


Share

Advertisement



Prabardhan Saptahik
© 2021, Copyrights Prabardhan Weekly | Developed by Reliefcode Theme. All Rights Reserved