संवादाता
अमेरिकाको न्यूयोर्कमा चर्चित लेखक सल्मान रुस्दी आक्रमणमा परी गम्भीर घाइते भएका हुन् । चौतौकुवा इन्स्टिच्युटमा ७५ वर्षीय लेखक सल्मानमाथि स्टेजमै बोलिरहेका बेला आक्रमण भएको हो । न्यूयोर्क प्रहरीका अनुसार एक पुरुषले स्टेजमा पुगेर सल्मानमाथि आक्रमण गरेका थिए । आक्रमणले उनको घाँटीमा चोट लागेको प्रहरीले जनाएको छ । उनलाई हेलिकाेप्टरबाट नजिकैको अस्पताल लगिएको थियो । उनको अवस्था अहिले गम्भीर रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सल्मानमाथि विगत लामो समयदेखि इस्लामिक समूहबाट हत्याको धम्की आउने गरेको थियो । सन् १९९८ मा प्रकाशित भएको ‘द सटानिक भर्सेज’ उपन्यासपछि उनीमाथि ज्यान मार्ने धम्की आउने गरेको थियो । प्रहरीले आक्रमणमा संलग्न भएको अभियोगमा २४ वर्षका हादी मातरलाई पक्राउ गरेको छ।